गण्डकी, लुम्बिनी, कर्णालीमा बिहानैदेखि वर्षा

काठमाडौं — देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। वाग्मती प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार सिन्धुपाल्चोकसहित वाग्मती प्रदेशका केही स्थानमा वर्षा सुरु भइसकेको छ। बाँकी प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको दाहालले बताए।

काठमाडौं उपत्यकामा दिउँसो ११–१२ बजेतिर केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। तर, सबै क्षेत्रमा नभई छिटफुट रूपमा र छोटो अवधिका लागि मात्र वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए।

रातिको मौसमबारे दाहालले भने, “कोसी र मधेस प्रदेशमा रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, अन्य प्रदेशका पहाडी भूभागहरूमा पनि वर्षा हुन सक्छ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको छ, जसका कारण मौसम बदली र वर्षा भइरहेको हो।

प्रतिक्रिया