काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ। अघिल्लो कारोबार दिन आइतबार घटेर बन्द भएको नेप्सेले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा झरेको छ। बजारसँगै सेन्सेटिभ इण्डेक्स ४.०२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंकले घटेका छन्।
नेप्से घटेसँगै कारोबार रकम पनि संकुचित भएको छ। आइतबार ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३२४ स्टकको १ लाख २ हजार २८१ पटकको कारोबारबाट १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ६७ लाख ६६ हजार कित्ता शेयर किनबेच भएको छ। पछिल्ला दिनहरूमा लगानीकर्ताको मनोबल कमजोर देखिँदा बजारमा बिक्री चाप बढेको विश्लेषकहरूको भनाइ छ।
सोमबार खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। त्यसैगरी रिडी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी र लिबर्टी इनर्जीको करिब ८ प्रतिशतले बढेको छ। यता कारोबारमा आएको माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ५.४० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको मात्रै ७७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि एसवाई प्यानल नेपालको ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये सोमबार केवल व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूह सर्वाधिक २.२९ प्रतिशतले ओरालो लागेको छ। त्यसैगरी विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।
बजार विश्लेषकहरूका अनुसार पछिल्लो समय नाफा बुकिङ, तरलताको अवस्था र लगानीकर्तामा देखिएको प्रतीक्षाको मानसिकताले बजारलाई दबाबमा राखेको छ। ठोस सकारात्मक संकेत नआएसम्म बजारमा उतारचढाव जारी रहने उनीहरूको अनुमान छ।