नारायणगढ–बुटवल सडक फेरि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ – लगातारको वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ। हिजो बेलुका एकतर्फी रूपमा खुलेको सडक गएरातिदेखि पुनः दुईतर्फी रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जानकारी दिएको छ।

प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौँबाट नेपालगञ्जका लागि छुटेको एक यात्रुबाहक बससमेत बगाएको हो। बस थोरै बगेको भए पनि सबै यात्रु सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ।

दाउन्ने र दुम्कीबास क्षेत्रहरूमा पानी परेपछि सडक हिलो र चिप्लो हुने भएकाले जाम र दुर्घटनाको उच्च जोखिम रहेको भन्दै प्रहरी प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनका लागि नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटवल पुग्ने, र काठमाडौँबाट पश्चिमतर्फ जानेलाई पनि सोही मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

पश्चिमबाट पूर्वतर्फ आउने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन मार्ग अपनाउनुपर्नेछ भने साना सवारीका लागि कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–पिपलडाँडा सडक पनि वैकल्पिक विकल्पको रूपमा प्रयोग गर्न सकिने बताइएको छ।

यसैबीच, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा गएको पहिरोका कारण पाँच दिनदेखि बन्द रहेको सडक अझै खुलेको छैन। यस्तै, भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरीमा पनि बाढीका कारण सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय