३ हजारमाथि उक्लिएर फर्कियो नेप्से परिसूचक, लगानीकर्तामा उत्साह

काठमाडौँ – झन्डै ११ महिनाको अन्तरालपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचक सोमबार इंट्रा–डे कारोबारमा ३००० अंक माथि पुगेको छ। गत वर्ष भदौ ९ गतेपछि पहिलोपटक नेप्सेले यस्तो उचाइ छोएको हो।

पछिल्लो पटक नेप्से बन्द हुँदा साउन ३० गते ३०००.८१ अंकमा पुगेको थियो। त्यसयता बजारमा चाप बनेको थियो। तर, असार १२ गतेको २५९५ अंकबाट बजारले निरन्तर सुधार देखाउँदै आएको छ। साउन १ र ६ गते विशेषगरी नेप्सेमा उल्लेख्य छलाङ आएको थियो भने अन्य दिनहरूमा पनि क्रमिक वृद्धि जारी रहेको छ।

सोमबार दिउँसोसम्म नेप्से ३००२ अंकमा कारोबार भइरहेकाे देखिएको छ। यदि नेप्सेले यो स्तरलाई मजबुतीका साथ पार गर्दै अघि बढ्न सकेमा अगिल्लो उच्च प्रतिरोधस्तर ३२०० अंक प्रमुख चुनौती बन्नेछ, जुन करिब चार वर्षअघि भदौ महिनामा बनेको थियो।

३२२७ अंक नाघेपछि बजार पूर्ण रूपमा ‘बूलिश’ ट्रेन्डमा प्रवेश गर्ने प्रक्षेपण गरिँदैछ, जसले नयाँ कीर्तिमानी उचाइहरू बनाउने आधार तयार पार्न सक्छ।

यस वर्ष नेप्सेमा हालसम्म १५.७ प्रतिशतको वृद्धि भइसकेको छ। विश्लेषकहरूका अनुसार, बजारको हालको गति हेर्दा नयाँ उच्च बिन्दु पार गर्न कठिन नपर्ने देखिन्छ। तर, नेपाल राष्ट्र बैंकले साउन १५ सम्म बैंकको ब्याज बुझाउने समय थप गरेपछि केही लगानीकर्ता नगद व्यवस्थापनका लागि बजारबाट रकम निकाल्न सक्रिय भएको पाइएको छ।

तीन वर्ष अघि यही ३००० अंकको वरिपरि बजारले तीव्र गिरावट अनुभव गरेकाले यस स्तरमा बलियो प्रतिरोध हुनु स्वाभाविक मानिएको छ। यद्यपि, अहिलेको बजारले त्यो दबाब सामना गर्ने संकेत देखाइरहेको छ।

प्रतिक्रिया