काठमाडाैं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरित जलवायु कोष र अन्य संयन्त्रहरूको माध्यमबाट जलवायु वित्तमा पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याएका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा बोल्दै उनले जलवायु वित्त स्रोतहरूलाई ऊर्जा, कृषि, र विपद् सहनशीलता जस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण हुने बताएका छन्।
पौडेलले नवीकरणीय ऊर्जा, वातावरणमैत्री पूर्वाधार, र जलवायु अनुकूल कृषि क्षेत्रमा वित्तीय संस्थाहरूको लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। नेपालमा हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू रहेको भन्दै उनले आर्थिक प्रगति र पर्यावरण संरक्षणको सन्तुलन आवश्यक रहेको उल्लेख गरे। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपालको विकास मोडलले वातावरणीय अनुकुलनता, दिगोपना, र समानतालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि नेपालको अर्थतन्त्र बिस्तारै सुधारको बाटोमा रहेको र मुद्रास्फीतिमा उल्लेख्य सुधार देखिएको बताएका छन्।