काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिको वार्षिक प्रतिवेदनअनुसार यो वृद्धिदर अघिल्लो वर्षको ३.६७ प्रतिशतभन्दा उच्च हो।
मुद्रास्फीति पनि घटेर अघिल्लो वर्षको ५.४४ प्रतिशतबाट ४.०६ प्रतिशतमा पुगेको छ। शोधनान्तर स्थिति करिब ९२ अर्बले बढ्दै ५ खर्ब ९४ अर्ब ५४ करोडमा पुगेको छ, जसले अघिल्लो वर्षको ५ खर्ब २ अर्ब ४९ करोडलाई उछिनेको छ।
विदेशीसँगको कारोबारमा आयात १३ प्रतिशतले बढ्दा निर्यात ८१.८ प्रतिशतले उछालिएको छ। त्यस्तै, रेमिट्यान्स आप्रवाहमा १९.२ प्रतिशत वृद्धि भई १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यसले विदेशी मुद्रा सञ्चिति बढाएर १९ अर्ब ५० करोड डलर पुर्याएको छ, जसले १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्नेछ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन १२.६ प्रतिशतले बढेर ७२ खर्ब ६४ अर्ब पुगेको छ भने कर्जा प्रवाह ८.४ प्रतिशतले बढ्दै ५४ खर्ब ९८ अर्बमा पुगेको छ।