काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका शान्ती श्री परियारको आफ्नै लगानीमा बनेको तीज गीत "लौन नी भैया" भर्खरै सार्वजनिक भएको छ। गीत सार्वजनिक भएको २४ घण्टामै अत्यधिक लोकप्रिय बन्ने लक्षण देखाएको छ।
गीतले यो समाचार तयार पार्दा सम्म २ लाखभन्दा धेरै दर्शक पाइसकेको छ। बिहीबार साँझ मात्र सार्वजनिक भएको यस गीतको निर्माण टोलीले अडियो र भिडियोमा निकै मेहनत गरेको छ। अघिल्लो वर्ष परियारकै लगानीमा बनेको गीत "अरेली काँडैले " निकै चर्चा पाएको थियो।
शान्ती श्री परियारको आवाजमा रहेको यस गीतमा विक्रम बाबु विश्वकर्माको शब्द र युवा सर्जक अर्जुन सापकोटाको लय सिर्जना छ। गीतको म्युजिक भिडियो पनि निकै महँगो बनाइएको छ। भिडियोमा पल शाह र अञ्जली अधिकारीले अभिनय गरेका छन् भने निर्देशन सुनिल विकले गरेका छन्।
गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँगको कुराकानीमा परियारले यस गीतले पनि अघिल्लो वर्षको जस्तै ठूलो माया पाउने विश्वास व्यक्त गरिन्। सार्वजनिक भएपछि राम्रो प्रतिक्रियाहरू प्राप्त भइरहेको उनले बताइन्।