काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले देशको वर्तमान संवेदनशील र अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९०(१,घ) अनुसार धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी यो निर्णय गरिएको नेप्सेले जानकारी दिएको छ। नेप्सेले अब असोज ५ गते आइतबारबाट मात्र नियमित कारोबार सुरु गर्ने जनाएको छ।
नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, “देशको आन्तरिक राजनीतिक स्थिति अझै सहज नभएको र वित्तीय बजारमा अनावश्यक अस्थिरता निम्तिन सक्ने सम्भावना भएकाले, लगानीकर्ताको हित र बजारको स्थायित्वका लागि शेयर कारोबार अस्थायी रूपमा स्थगित गरिएको हो।” पछिल्ला दिनहरूमा जेन–जी आन्दोलनका कारण देशभरको जनजीवन प्रभावित भएको छ। प्रदर्शन, कर्फ्यू, र सुरक्षात्मक बन्दोबस्तका कारण राजधानी काठमाडौँसहित विभिन्न क्षेत्रमा आर्थिक गतिविधि सुस्त भएको छ।
लगानीकर्ता र वित्तीय विश्लेषकहरूले नेप्सेको यो निर्णयलाई सकारात्मक रूपमा लिएका छन्। लगानीकर्ता छोटेलाल रौनियारले भने, “मुलुक यति संवेदनशील अवस्थामा छ कि कुनै पनि लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने मनस्थितीमा छैन। बजार खुल्दा अनावश्यक घाटा हुन सक्ने भएकाले बन्द गर्न गरिएको निर्णय समयानुकूल र विवेकपूर्ण हो।” उनका अनुसार, अनिश्चितताले भरिएको राजनीतिक वातावरण र सुरक्षाको चिन्ताले लगानीकर्ताले जोखिम लिन नचाहेको स्पष्ट संकेत गरेको छ।
हाल मुलुकमा नयाँ प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेसँगै राजनीतिक स्थायित्व र आर्थिक विश्वसनीयता फर्किने अपेक्षा पनि बढेको छ। अन्तर्राष्ट्रिय समुदायले समेत नेपाललाई शान्ति, पारदर्शिता र प्रगतिप्रति प्रतिबद्ध रहन आग्रह गरेको छ। यस्तै, व्यवसायिक संघसंस्थाहरूले पनि सरकारलाई स्थायित्व र लगानी–मैत्री वातावरण बनाउन आवश्यक कदम चाल्न सुझाव दिएका छन्।
वित्तीय विज्ञहरूका अनुसार, नेप्सेको अस्थायी बन्दले तत्कालका लागि बजारलाई अनावश्यक दबाबबाट जोगाउनेछ। तर, लामो समयसम्म राजनीतिक अनिश्चितता रहिरहे आर्थिक क्षेत्रमा प्रत्यक्ष असर पर्ने चेतावनी पनि दिइएको छ। बजारको स्थायित्व कायम गर्न स्पष्ट नीति, लगानी सुरक्षाको ग्यारेन्टी, र पारदर्शी आर्थिक निर्णय आवश्यक पर्ने विज्ञहरूको सुझाव छ।
अर्थतन्त्रका अन्य क्षेत्रहरू पनि हालको परिस्थितिबाट प्रभावित छन्। पर्यटन, बैंकिङ, तथा व्यापार क्षेत्रले पनि घाटा भोगिरहेको बताएका छन्। तर, बजार स्थिर भएपछि शेयर कारोबार पुनः सक्रिय हुने र लगानीकर्ताको विश्वास फर्किने अपेक्षा व्यक्त गरिएको छ।