राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज असार १ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर जारी गर्दैछ, जसअनुसार हालको १ कित्ता शेयरका लागि १ कित्ता नयाँ हकप्रद शेयर प्राप्त गर्न सकिनेछ।
यसअनुसार कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ हुनेछ। कम्पनीले हकप्रद शेयर निष्काशनका लागि जेठ ६ गते बुकक्लोज गरेको थियो। त्यसैले जेठ ५ गतेसम्म नेप्सेमा शेयर खरिद गरेका शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम मिति असार २२ गतेसम्म तोकिएको छ। इक्रा नेपालले कम्पनीलाई दिएको रेटिङ्ग "इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस" रहेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आवेदन मुक्तिनाथ क्यापिटल नारायणचौर नक्साल काठमाडौं, राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर काठमाडौं तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरूबाट दिन सक्नेछन्।
त्यस्तै, सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, साथै CDSC को ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ रहेकोमा हकप्रद निष्काशनपछि पूँजी बढेर १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६ सय रुपैयाँ पुग्नेछ।