समारोहका प्रमुख अतिथिका रूपमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी प्राध्यापक ताकाआकी काजिता सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध काजिताको उपस्थितिलाई विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठासँग जोडेर हेरेको छ । उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
यस वर्ष त्रिभुवन विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये १६ हजार ३ सय ८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका छन् । दीक्षित विद्यार्थी र अभिभावकका लागि मण्डप निर्माण, बसाइँको व्यवस्थापन तथा सुरक्षासम्बन्धी तयारी सम्पन्न भइसकेको विश्वविद्यालयले जनाएको छ ।
दीक्षान्त समारोहका क्रममा विभिन्न सङ्काय र तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिने छ । उत्तीर्ण हुने विद्यार्थीमध्ये मानविकी सङ्कायबाट १४ हजार ८ सय ५१, व्यवस्थापनबाट ४३ हजार ६ सय १०, कानूनबाट २ हजार ३ सय ३५ तथा शिक्षातर्फ १६ हजार ४ सय ६७ जना रहेका छन् ।
विश्वविद्यालयका अनुसार दीक्षान्त समारोहले विद्यार्थीको शैक्षिक यात्रालाई औपचारिक मान्यता दिने मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको बौद्धिक व्यक्तित्वको उपस्थितिले त्रिविको शैक्षिक छविलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।