समस्याग्रस्त सहकारीबाट ६ हजार १ सय ५५ बचतकर्तालाई सम्पूर्ण बचत फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ जना बचतकर्तालाई उनीहरूको सम्पूर्ण बचत रकम फिर्ता गरेको जनाएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समितिले हालसम्म १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार रुपैयाँ फिर्ता गरेको जानकारी दिए।

मन्त्री अधिकारीले आंशिक रुपमा ४ सय ३८ जना बचतकर्तालाई ३ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता गरिएको पनि बताए। यद्यपि, ५६ हजार ६ सय ५ जना बचतकर्ताको ३८ अर्ब ४२ करोड रुपैयाँ बचत अझै फिर्ता गर्न बाँकी रहेको उनले उल्लेख गरे।

संकटग्रस्त सहकारीको सम्पत्ति बिक्री, लिलाम वा साटासाट गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने तथा ऋण तिर्न बाँकी रहेका सदस्यहरूको सम्पत्ति लिलाम गरिने मन्त्री अधिकारीले स्पष्ट पारे। साथै, केही सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने प्रक्रिया पनि सुरु भइसकेको उनले जनाए।

उनका अनुसार, हाल सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्न बाँकी रहेका १९ सहकारी रहेका छन्, भने ३ सहकारीको दायित्व पूरा भइसकेको छ। चालू आर्थिक मसान्तसम्म थप ९ सहकारीको राफसाफ गर्ने लक्ष्य राखिएको र १३ हजार ७५ ऋणी सदस्यबाट २३ अर्ब ६२ करोड रुपैयाँ असुल्न अन्तिम कारवाहीको प्रक्रिया सुरु गर्ने योजना रहेको जानकारी मन्त्री अधिकारीले दिए।

कार्यक्रममा समस्याग्रस्त सहकारीका केही बचतकर्तालाई उनीहरूको बचत रकम फिर्ता पनि गरिएको थियो।

प्रतिक्रिया