नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ का सात महिनामा वार्षिक लक्ष्यको ४५.०१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। वार्षिक रूपमा रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व उठाउने लक्ष्य निर्धारण गरिएकामा माघ मसान्तसम्म रु ११ अर्ब चार करोड ६५ लाख ८५ हजार असुली भएको कार्यालय प्रमुख जनार्दन पौडेलले जानकारी दिए। लक्ष्य पूरा गर्न बाँकी पाँच महिनामा ५५ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती रहेको उनले उल्लेख गरे।
चालू आवका साउनदेखि माघसम्म कुनै पनि महिनामा मासिक लक्ष्य पूरा हुन सकेको छैन। साउनमा लक्ष्यको ७४ प्रतिशत, भदौमा ६९ प्रतिशत, असोजमा ८७ प्रतिशत, कात्तिकमा ७२ प्रतिशत, मङ्सिरमा ८३ प्रतिशत, पुसमा ८३ प्रतिशत र माघमा ८८ प्रतिशत राजस्व संकलन भएको छ। अघिल्लो आव २०८१/८२ मा ७४.६४ प्रतिशत र २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन भएको थियो।
नेपाल–भारत सीमास्थित जमुनाह नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात बढेर राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि पछिल्ला वर्षमा लक्ष्य पूरा हुन सकेको छैन। यद्यपि चालू आवको सात महिनामा गत आवको सोही अवधिको तुलनामा रु नौ करोड २४ लाखभन्दा बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। गत आवको सात महिनामा रु १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार राजस्व उठेको थियो।
मासिक तथ्याङ्कअनुसार साउनमा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य राखिएकामा रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार संकलन भएको छ। भदौमा रु एक अर्ब ९३ करोड ६४ हजार ५४ लक्ष्य रहेकामा रु एक अर्ब ३५ करोड १० लाख नौ हजार उठेको छ। असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० हजार लक्ष्यका तुलनामा रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्यका तुलनामा रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्यका तुलनामा रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार संकलन भएको छ।
त्यस्तै पुसमा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार र माघमा रु एक अर्ब ९३ करोड ६९ लाख ४० हजार लक्ष्य रहेकामा रु एक अर्ब ७० करोड एक लाख ८२ हजार राजस्व असुली भएको छ।