काठमाडौं। भारतबाट एलपी ग्यासको आयात नियमित भइरहे पनि केही स्थानमा बजारमा ग्यास अभाव देखिन थालेको छ। नेपालमा ग्यास मुख्यतः भैरहवा र वीरगञ्ज नाकाबाट आयात हुँदै आएको छ र दुवै नाकाबाट ग्यास आपूर्ति निरन्तर भइरहेको सम्बन्धित निकायले जनाएको छ।
तर आपूर्ति सामान्य भए पनि भैरहवा आसपासका बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। स्थानीयका अनुसार एक सिलिन्डर ग्यास लिन दिनभर पसल–पसल धाउनुपर्ने अवस्था आएको छ। विक्रेताले मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काउने गरेको र पसलहरूमा सिलिन्डरका लागि लामो लाइन लाग्ने गरेको बताइएको छ।
स्थानीय बासिन्दा प्रदीप ज्ञवालीका अनुसार लामो समय पालो कुर्दा पनि ग्यास नपाउँदा दैनिक भान्छा चलाउन समस्या भएको छ। ग्यास विक्रेताहरूले पनि कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नहुँदा उपभोक्ताको माग पूरा गर्न नसकिएको बताएका छन्।
यद्यपि भैरहवा भन्सार कार्यालयले भने ग्यास आयातमा कुनै समस्या नभएको जनाएको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार निर्वाचनका कारण केही दिन आयातमा सामान्य असर परे पनि अहिले अवस्था सामान्य भइसकेको छ र दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्यांकर नेपाल भित्रिने क्रम जारी छ।
विक्रेताहरूका अनुसार सम्भावित अभावको हल्लापछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्न थालेकाले बजारमा असन्तुलन देखिएको हो। पहिले दैनिक सीमित मात्रामा बिक्री हुने सिलिन्डर अहिले केही घण्टामै सकिने अवस्था देखिएको छ।
सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ ग्यास सिलिन्डर लैजाने प्रयास बढेको आशंका पनि गरिएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले नेपालबाट अवैध रूपमा सिलिन्डर लैजाने गतिविधि बढेको स्थानीयले बताएका छन्। रूपन्देही प्रहरीले सीमामा निगरानी कडा पारिएको जनाएको छ र केही सिलिन्डर नियन्त्रणमा समेत लिएको बताएको छ।
यस्तै ग्यास वितरणलाई व्यवस्थित बनाउन चितवन जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था लागू गरेको छ। प्रशासनले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त तथा अपाङ्गता भएका व्यक्ति र कोठा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने व्यवस्था गरेको छ। ग्यास आपूर्ति र बिक्रीको अभिलेख राखेर दैनिक प्रशासनमा बुझाउन पनि उद्योगी तथा विक्रेतालाई निर्देशन दिइएको छ।
नेपाल आयल निगमले भने भारतबाट ग्यास आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यास अभावको हल्लाका कारण उपभोक्ताले अनावश्यक सञ्चिति बढाउँदा बजारमा कृत्रिम अभाव देखिएको हो। यस्तो अवस्था नियन्त्रण गर्न आधा सिलिन्डर ग्यास बिक्री गर्ने व्यवस्था समेत सुरु गरिएको निगमले जनाएको छ।
निगमले नेपालमा ग्यास आपूर्ति पर्याप्त रहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी भण्डारण नगर्न र विद्युतीय चुल्हो प्रयोग बढाउन आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा देखिएका उतारचढावका कारण आगामी दिनमा मूल्य समायोजन हुन सक्ने संकेत पनि दिएको छ।