सामलिङ्ग पावरले भोलीदेखि आईपीओ निष्कासन गर्ने


काठमाण्डौं–सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सामलिङ्ग पावरले भोलि भदौ १८ गतेबाट पुनः आवेदन खुला गर्ने भएको छ ।
कम्पनीले गत साउन २२ गतेबाट आयोजना प्रभावित इलामवासीका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भनेको थियो । तर कोभिड संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेपछि गत साउन २० गते एक सूचना निकाली अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरिएको थियो ।


कुल निष्कासित कित्तामध्ये आयोजना प्रभावित इलाम जिल्लाभरिका बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता निष्कासन गरिएको छ। 
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोबार्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । 
यसैगरी इलाममा रहेका नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंक तथा माइजोगमाईमा रहेको सिभिल बैंकबाट पनि आवेदन दिन सकिनेछ ।
सामलिङ्ग पावरको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासन अनुमति दिएको हो। धितोपत्र बोर्डले यो कम्पनीलाई कुल १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।


सोहीअनुसार कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। दोस्रो चरणमा सर्वसाधारणका लागि ७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्नेछ । धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । कम्पनीको यो आईपीओ चुक्तापुँजीको २४.६० प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ।
 

प्रतिक्रिया