काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उल्लेखनीय उछाल देखिएको छ । अघिल्लो कारोबार दिन बिहीबार ९.२३ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार थप ५७.५५ अंकले बढ्दै २.१२ प्रतिशतको वृद्धि सहित २ हजार ७७२ दशमलव १७ बिन्दुमा पुगेको छ ।
नेप्सेमा आएको उछालसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ । आज ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १३ अर्ब ७७ करोड ५७ लाख २९ हजार रुपैयाँमा किनबेच भएका छन् । अघिल्लो कारोबार दिन ३३२ कम्पनीका १ करोड ९० लाख कित्ता सेयर ९ अर्ब ७ करोड रुपैयाँमा कारोबार भएको थियो ।
समूहगत रूपमा आज सबैजसो सूचक हरियाली देखिएका छन् । होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले बढेर सबैभन्दा अगाडि देखिएको छ भने उत्पादन तथा प्रशोधन समूह २.९७ प्रतिशत, लगानी समूह २.८४ प्रतिशत र हाइड्रोपावर समूह २.७४ प्रतिशतले बढेका छन् ।
आजको कारोबारमा २४० कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केवलकार, हिमस्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी, त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल वेयरहाउसिङ कम्पनी, बरुण हाइड्रोपावर र स्वस्तिक लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।