कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। चौधरीविरुद्ध परेको उजुरीमाथि अध्ययन गर्दै निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन पत्र अमान्य ठहर गरेको हो। निर्वाचन अधिकृत देवराज भारतीद्वारा जारी आदेशमा राष्ट्रपतिबाट आममाफी पाएको आधारमा अदालतको फैसला बदर नहुने उल्लेख गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) अनुसार चौधरी अझै कानुनी रूपमा अयोग्य रहेको ठहर गरिएको छ। साथै, निर्वाचन आयोगले २०८० मंसिर २४ गते गरेको निर्णयअनुसार चौधरी राजनीतिक दलको सदस्य बन्नसमेत अयोग्य रहेको उल्लेख आदेशमा छ।
रेशम चौधरीमाथि २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा मुख्य योजनाकारको आरोपमा मुद्दा दायर गरिएको थियो। सोही मुद्दामा कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। सजाय भुक्तानीका क्रममा उनी डिल्लीबजार कारागारमा थुनामा थिए। पछि सरकारले १५ वर्षको कैद माफीका लागि सिफारिस गरेपछि राष्ट्रपतिबाट आममाफी दिइएको थियो र गणतन्त्र दिवसको अवसरमा २०८० जेठ १५ गते उनी रिहा भएका थिए। संविधानको धारा २७६ तथा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार रिहा भए पनि कानुनी प्रावधानका कारण उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट पारेको छ।