बालेनको स्पष्टीकरणः “सिंहदरबारमा दमकल रोकिएको होइन, भीडले काम गर्न नदियो”

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा लागेको आगो निभाउने क्रममा महानगरको दमकल रोकिएको भन्ने आरोपको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण सार्वजनिक गर्दै आफू र महानगरको टिम कुनै जिम्मेवारीबाट नभागेको बताएका छन्।

उनका अनुसार सिंहदरबारमा आगलागी हुँदा महानगरको दमकल तुरुन्तै जाने प्रयास गरे पनि आन्दोलनकारीले रोकिदिएका कारण तत्काल पुग्न नसकेको हो। “सिंहदरबार जलेको लगत्तै दमकल पठाउने प्रयास गरिएको थियो, तर हुलले काम गर्न नदिँदा ढिलाइ भयो,” मेयर बालेनले लेखेका छन्।

भीड केही शान्त भएपछि मात्रै महानगरको दमकल असोज २४ गते साँझ ८:१५ बजे सिंहदरबार पुगेको उनले बताएका छन्। उनले भने, “जब भिड अलिक शान्त भयो, त्यतिबेला हाम्रो दमकल सिंहदरबार पुगेर आगो निभाउने कार्यमा सहभागी भयो।”

बालेनले ती दिनहरूमा देश अराजक अवस्थाबाट गुज्रिरहेको र महानगरका पाँचवटै दमकलले विभिन्न स्थानमा आगो निभाउन दिनरात खटिएको पनि जानकारी दिएका छन्। उनका अनुसार ५ वटा दमकल र ४४ जनाको टोलीले ३ सिफ्टमा काम गरेको थियो।

उनले संसद भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न बैंक, प्रहरी कार्यालय, अस्पताल र बजार क्षेत्रका आगो निभाउने कार्यमा दमकलहरू खटिएको विस्तृत विवरण पनि सार्वजनिक गरेका छन्।

त्यस्तै, आन्दोलनका क्रममा घाइते र बिरामीहरूको उपचार, लाश व्यवस्थापन, औषधि तथा खाना व्यवस्थापन, रगत संकलनदेखि उद्धारसम्मका काममा महानगरको टिम सक्रिय रहेको उनले स्पष्ट पारेका छन्।

बालेनले बिना तथ्य अफवाह फैलाउनेहरूलाई सचेत रहन आग्रह गर्दै भनेका छन्, “अफवाह र हल्लाले जनतालाई भ्रमित बनाउँछ र खटिने कर्मचारीको मनोबल घटाउँछ।”

अन्त्यमा उनले मिडियालाई सत्य तथ्यका आधारमा मात्र समाचार प्रकाशित गर्न आग्रह गर्दै भनेका छन्, “देशलाई अहिले एकता र सत्यको आवश्यकता छ, हल्ला र झुटको होइन।”

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय