सर्वोत्तम सिमेन्टको आइपीओमा अचाक्ली आवेदन,शेयर पाउन भाग्यकै भर

काठमाण्डौं - सर्वोत्तम सिमेन्टको आईपीओमा दाेस्राे दिनसम्म मागभन्दा ७.९९ गुणा बढी आवेदन परेको छ। साेमबारसम्ममा २ कराेड कित्ता भन्दा धेरै शेयर खरिदको लागि आवेदन परिसकेको छ।

सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार साेमबार साँझसम्ममा ४ लाख ७ हजार ७११ जना आवेदकबाट ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको ८६ लाख ६० हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। दाेस्राे दिनसम्ममा कम्पनीकाे आईपीओका लागि २ कराेड २२ लाख २३० कित्ता शेयर माग गरिएकाे छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

 

 

प्रतिक्रिया