गोरखा । गोरखामा एउटै भीरबाट खसेर दुई जनाको ज्यान गएको छ। चुमनुब्री गाउँपालिका–६ धुम्चाका करिब ४३ वर्षीय रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षीय हिसे दोर्जे लामा खसेर मृत्यु भएको आफन्तले जनाएका छन्।
घटना चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक नामक स्थानमा भएको हो। दुवै जना करिब एक सय मिटर तल स्यार खोलामा खसेका थिए। मृतकका आफन्त नुर्बु दोर्जेका अनुसार, आइतबार चुम्लिङमा विद्युत समिति बैठक सकिएपछि फर्कने क्रममा रिञ्जिन हराएका थिए।
चार दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि बिहीबार बिहान हिसे शव भेटिएको भन्दै गाउँलेलाई खबर गर्न झरेका थिए। तर, उनी पनि त्यही भीरबाट तल खस्दा घटनास्थलमै ज्यान गुमाए। बिहान करिब नौ बजेतिर भएको उक्त घटनामा हिसेको शव तत्कालै भेटिएको हो।
दुवै जनाको शव गाउँलेहरूले खोलाबाट निकालेर गाउँतर्फ लगेका छन्। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको र अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भरत विकले बताए।
यसै भीरबाट यसअघि पनि पाँच जनाले ज्यान गुमाइसकेको वडा सदस्य ठिले ग्याम्जो लामाले जानकारी दिए।