काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो। आयोगले बुझाएको प्रतिवेदनको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
सरकारले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न असोज ५ मा आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।
छानबिनका क्रममा आयोगले आन्दोलनका बेला भएको हिंसात्मक घटनामा युवाको ज्यान गएको विषयलाई केन्द्रमा राखेर अध्ययन गरेको थियो। यसका लागि आयोगले १५० भन्दा बढी सरकारी अधिकारी तथा आन्दोलनका प्रत्यक्षदर्शीसँग बयान लिएको जनाएको छ।
जेनजी आन्दोलन भएको समयमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो। त्यतिबेला रमेश लेखक गृह मन्त्री, गोकर्णमणि दुवाडी गृह सचिव, चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक र छविलाल रिजाल काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए।