चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो सात महिनामा मुलुकको कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुगेको छ। भन्सार विभाग ले सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँको मात्रै निर्यात भएको छ। यसरी व्यापार सन्तुलन नकारात्मक बन्दा देशले नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ।
देशअनुसार हेर्दा भारतसँग सबैभन्दा ठूलो व्यापार असन्तुलन देखिएको छ। सात महिनामा भारतबाट ६ खर्ब २९ अर्ब २९ करोड ५९ लाख रुपैयाँको आयात हुँदा एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाख रुपैयाँको निर्यात भएको छ, जसबाट ४ खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ घाटा भएको छ। चीनसँग दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाख रुपैयाँको आयात र ९० करोड एक लाख रुपैयाँको निर्यात हुँदा दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख रुपैयाँ घाटा भएको छ। त्यसैगरी अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख तथा इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ। रोमानिया, नर्वे र आइसल्याण्डसँग भने सामान्य व्यापार नाफा रहेको तथ्यांकमा उल्लेख छ।
वस्तुगत विवरणमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी देखिएको छ। सात महिनामा ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँको पेट्रोल र ३१ अर्ब ८५ करोड नौ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। यसबाहेक ५९ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कच्चा सोयाबिन तेल, ३१ अर्ब नौ करोड १२ लाख रुपैयाँको फलाम तथा फलामजन्य सामग्री, २१ अर्ब ३२ करोड ६१ लाख रुपैयाँका स्मार्टफोन र २१ अर्ब २० करोड रुपैयाँ बराबरको सुन आयात भएको छ।
निर्याततर्फ सोयाबिन तेल अग्रस्थानमा रहेको छ, जसको निर्यात ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै अलैँची आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल पाँच अर्ब ७८ करोड र कार्पेट पाँच अर्ब ७१ करोड ८८ लाख ६९ हजार रुपैयाँ बराबर निर्यात भएको विभागले जनाएको छ।