साढे ६२ करोडको नयाँ आईपीओ निष्कासन हुने


काठमाडौं–५२.४ मेगावाटको विद्युत् परियोजना निर्माण गरेको ग्रिन भेन्चर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । ग्रिनभेन्चरले ६२ करोड ५० लाख रुपियाँको आईपीओ निष्कासन गर्नका लागि नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको छ ।


आवश्यक प्रक्रिया पुरा गरे पछि ग्रिनभेन्चरले अब आईपीओ निष्कासन गर्नेछ । यस कम्पनीले सोलुखुम्बु, रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले गत कात्तिकदेखिनै विद्युत उत्पादन सुरु गरेको छ । 


कम्पनीका अध्यक्ष सुवास संघाईका अनुसार निर्माण सुरु गरेको ३९ महिनामा सम्पन्न भई आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको छ । 
आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि १७ किलोमिटर दूरीमा रहेको २२० केभी न्यू खिम्ती सबस्टेसनमा जोडिएको छ ।
सबस्टेसनसम्मको प्रसारणलाइन प्रवद्र्धक कम्पनीले निर्माण गरेको हो । यो आयोजना निर्माण सम्पन्न गर्न सुरुवातमा नौ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । सुरुवातमा यो आयोजना १२० मेगावाटमा निर्माण गर्ने गरी डिजाइन गरिएको थियो । पछि १२० मेगावाटमा निर्माण गर्न सम्भव नदेखिएपछि क्षमता घटाएर ५२.४ मेगावाटमा निर्माण गरिएको हो ।

आयोजनामा व्यावसायिक प्रतिष्ठान त्रिवेणी  र विशाल ग्रुपको लगानी छ । आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्र्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिलको १ अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोडका दरले लगानी गरेका छन । त्यस्तै एसबीआई र सनराइज बैंकले ११ अर्ब तथा प्रभु र सानिमा बैंकको ८५÷८५ करोड रुपैयाँ ऋण लगानी छ ।
 

 

प्रतिक्रिया