काठमाडौं । बुधबार नेपालमा सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेकाले त्यसको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेपछि नेपालमा पनि सुनको भाउ नयाँ रेकर्डमा पुगेको हो।
यसैबीच चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले बढेर बुधबार ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा किनबेच भएको थियो।