काठमाडौं– ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा सहित आज २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइँदै छ । प्रमुख खाद्यबाली धान खेतीलाई प्रोत्साहित गर्न हरेक वर्ष असार १५मा सरकारसहित किसानले धान दिवस मनाउँदै आएका छन् । आज नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा धान रोपाइँ गरेर दिवस मनाउने कार्यक्रम रहेको कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए ।
वर्षाद भएकाले धमाधम धान रोपाइँ भइरहेको छ । कृषि विभागका अनुसार अहिलेसम्म करिब १६ प्रतिशत धान रोपाईँ भएको छ । शुक्रबारसम्म १३ लाख ९१ हजार तीन सय २१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कोशीमा १४.३ प्रतिशत, मधेशमा ३.९ प्रतिशत, बागमती प्रदेशमा २०.५ प्रतिशत, गण्डकी प्रदेशमा १३.८, लुम्बिनी प्रदेशमा ९.७ प्रतिशत, कर्णाली प्रदेशमा ३९.१ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा १७.२ प्रतिशत मात्र रोपाइँ भएको थियो ।