काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ वटा निवेदनको अध्ययन सुरु गरेको छ। आयोगका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा हुनुअघि १० दलले र घोषणापछि थप ५ दलले निवेदन दिएका छन्। तीमध्ये अधिकांश दलका कागजात हाल अध्ययनको क्रममा रहेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, सबै आवश्यक प्रक्रिया पूरा गर्ने दललाई दर्ता स्वीकृति दिइनेछ। संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार दर्ताका लागि विधान, नियमावली, घोषणापत्र, झण्डा, लोगो, निर्वाचन चिन्ह, कार्यसमितिको विवरण र दलको आर्थिक स्रोतसम्बन्धी कागजात बुझाउनुपर्ने हुन्छ।
हालसम्म प्राप्त निवेदनमध्ये केही नयाँ दलहरूमा हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी, गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी, डा. सुरेन्द्र भण्डारीको नेपाल नागरिक पार्टी, र दिनेशराज प्रसाईँको गतिशील लोकतान्त्रिक पार्टी रहेका छन्।
यस्तै हिराप्रसाद सोतीको नेतृत्वमा बनेको राष्ट्रिय जेनजी पार्टी नेपाल ले ‘क्रस खुकुरी’ चिन्ह माग गर्दै निवेदन दिएको छ। आयोगले यो चिन्ह पहिले कसैलाई नपाएको भन्दै प्रचलित व्यवस्था हेरेर निर्णय गर्ने बताएको छ।
आयोगले निर्वाचन घोषणापूर्व दर्ताका लागि निवेदन दिएका १० दलका केही कागजात अपुरो रहेकाले तत्काल स्वीकृति नदिएको जनाएको छ। हालसम्म आयोगमा १२४ दल दर्ता भएका छन्, जसमा केही दल विभाजनपछि थपिएका हुन्।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना कात्तिक २८ गते प्रकाशित गरिने र मंसिर १ देखि १० गतेसम्म दर्ता आवेदन दिने समय खुला गरिने आयोगले जनाएको छ। यस अवधिमा दर्ता पूरा गरेका दलहरूले मात्र समानुपातिक प्रणालीअन्तर्गत भाग लिन पाउनेछन्।
निर्वाचन तयारीका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित संसद्मा रहेका दलहरूलाई संवादमा आह्वान गर्दै वातावरण बनाउने पहल थालेकी छन्। प्रमुख दलहरूले न्यायिक परीक्षण, सुरक्षा व्यवस्था र आपसी सहकार्य सुनिश्चित भएपछि चुनावमा सहभागिता जनाउने तयारी जनाएको छ।