सरकारले ४५ वटा सार्वजनिक संस्थानमा ५.८६ प्रतिशतले लगानी वृद्धि गरी ७ खर्ब ३ अर्ब ९३ करोड पुर्याएको छ जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ। सरकारले गत आव २०८०/८१ मा ८ अर्ब ८३ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०८०-८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ।
सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड रुपैयाँ लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड रुपैयाँ प्राप्त भएको देखिएको छ। कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ। सरकारको मातहतमा सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो। नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ।
नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन् जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन्। आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २.२० प्रतिशतले वृद्धि भई २९ खर्व १० अर्ब १७ करोड रुपैयाँ पुगेको छ।