काठमाण्डौ । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा बिहीबार साँझ भएको विस्फोटमा परी एक २ वर्षीया बालिकाको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको झापाको बी एण्ड सी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनामा ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते भएका छन् र उनलाई थप उपचारका लागि झापाको बी एण्ड सी अस्पतालमा रेफर गरिएको छ। यस्तै, ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ, भने ७ वर्षीय दिपशन राई सामान्य घाइते भएका छन् र उनको उपचार स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा भइरहेको छ।
डाडागाउँस्थित आइतराज केरुङको घरमा भएको यस विस्फोटलाई सुरक्षा निकायले ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरिरहेको छ। यद्यपि, यस विषयमा थप पुष्टिको लागि नेपाली सेनाको टोलीको प्रतिक्षा गरिएको छ। घटनास्थलमा फेला परेको विस्फोटक पदार्थले स्थानीय बासिन्दामा त्रास फैलिएको छ।
घटना कसरी भएको भन्ने विषयमा अनुसन्धान जारी छ र थप विवरण आउने क्रममा रहेको प्रहरीले जानकारी दिएको छ।