बालेनको नयाँ कदम,आन्दोलनमा व्यवसायी

काठमाण्डौ । यसो त काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह यो बर्ष भरिनै चर्चाको शिखरमा छन । उनका कतिपय निर्णय अदालतले रोक्ने गरेको छ भने बेला बेला ब्यवसायीहरुले पनि प्रतिकार गर्ने गरेका छन। 
यसै विच काठमाडौँको नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् ।

न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाण्डौ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन् । 

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाले भने आज बिहानदेखि न्युरोड आसपासमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ । काठमाण्डौ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिनुभयो ।

पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले आज बिहानदेखि विशेष सरसफाइसमेत गरेको छ । 

प्रतिक्रिया