रत्ननगर- रत्ननगरमा रहेको ईलाका प्रहरी कार्यालयमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रहरीले सम्पादन गरिरहेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुसुचित गराउने र स्थानीय स्तरबाट राय सुझाव लिई प्रहरी कार्यलाई जनउत्तरदायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले बताए ।
कार्यक्रममा रत्ननगर र कालिका नगरपालिकाका जनप्रतिनिधिहरु, व्यवसायी, स्थानिय सामाजिक अगुवाहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले नदिजन्य पदार्थको दोहनमा प्रहरीको मिलेमतो रहेको, चोरी, लागुऔषधजन्य पदार्थहरुको ओसारपसार र प्रयोग नियन्त्रण गर्न नसकेको, प्रहरीले जनप्रतिनिधिहरुलाई नचिनेको, तस्कर संग साँठगाँठ गरेको लगायतको प्रश्न उठाएका थिए ।
कार्यक्रममा कालिका नगरपालिका वडा नं. ९ का वडाध्यक्ष निलकन्ठ मगरले कालिकाका विकट क्षेत्रहरुमा प्रहरीको उपस्थिति शुन्य रहेको बताउँदै चोरी, तस्करी, गुण्डागर्दी, लागुपदार्थको ओसारपसार र सेवन अत्याधिक रहेकाले प्रहरीको ध्यानाकर्षण गरे ।
यस्तै रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले रत्ननगरकै कर्णालीको रुपमा रहेको वडा नं. १६ मा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नसकिएको भन्दै प्रहरी बिट स्थापना गर्न माग गरे । कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिंदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउन आफू सदैव तयार रहेको बताए ।
अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागी चितवन प्रहरीले विशेष योजना बनाएर काम सुरु गरेको उल्लेख गर्दै कार्किले सिमित श्रोतसाधन र जनशक्ति अभावका कारण सोचेजस्तो प्रतिफल आउन नसकेको बताए । घरझगडा देखि भीआईपीको सुरक्षा सम्म १२३७ वटा काम नेपाल प्रहरीको जिम्मेवारीमा रहेको बताउँदै कार्कीले अभावैअभावका विच प्रहरीले कार्य सम्पादन गरिरहेको बताए ।
चितवनमा आफुले कार्यभार सम्हालेपछि करोडौं मूल्यका तस्करीको सामान बरामत गरेको बताउँदै कार्कीले लागुऔषध नियन्त्रणको लागी आफुले काम गरिरहेको बताए । विशेष गरि मकवानपुर संग सिमाना जोडिएका पालिकाहरुमा लागुऔषधको ओसारपसार बढी रहेको उनले बताए । शान्तीसुरक्षा स्थापनाको लागी प्रहरी मात्र नभएर, जनप्रतिनिधि र समुदायका हरेक तप्का सजक हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुकदेव पौडेलले सहजिकरण गरेका थिए ।