काठमाण्डौ । निक्षप संकनमा खासै सुधार नभएपछि बैंकहरुले भदौ महिनाको लागि पनि ब्याजदर नबढाउने भएका छन । बैंकर्स सँघले भदौ महिनामा पनि मुद्दती निक्षेपको ब्याजदरलाई यथावत नै राख्नेगरी सहमति गरेको छ।
बैंकहरुले गत फागुनदेखि मुद्दती निक्षेपको ब्याजदर बढाएका छैनन्। फागुनदेखि नै बैंकहरुले मुद्दती निक्षेपमा ११।०३ प्रतिशत ब्याज दिँदै आएका छन्। बैंकर्स सँघले विगत ६ महिनादेखि ब्याजदर नबढाउने गरी सहमति गर्दै आएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएर बैंकहरुलाई ब्याजदर बृद्धिमा प्रोत्साहन गरेको थियो तर बैंकिङ्ग प्रणालीमा तरलता अभाव कायमै रहेपनि बैंकहरुले भने निक्षेपमा ब्याजदर नबढाउने सहमति गरेका हुन्।
बैंकहरुले अहिले निक्षेपको ब्याजदर बढाउदा उनीहरुको लागत बढ्ने तर तत्काल कर्जाको ब्याज बढाउन नपाउने भएकोले पनि निक्षेपको ब्याज नबढाउने पक्षमा देखिएका हुन्।
बैंकहरुले ब्याजदर नबढाएपछि संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने घट्ने भएको छ। राष्ट्र बैंकले बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेको छ। यसले गर्दा अब संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ९।०३ प्रतिशतमा झर्ने भएको छ। यसले संस्थागत निक्षेपकर्तालाई भने निरुत्साहित गर्ने छ।
बैंकहरुले निक्षेपको ब्याज बढाए पनि कर्जामा भने त्रैमासको अन्तिममा आधार दर परिवर्तन भए अनुसार मात्रै कर्जाको ब्याज बढाउन पाउछन्। अहिले तत्कालै कर्जामा ब्याजदर बढाउन नपाउदा उनीहरुको खर्च मात्रै बढ्ने भएकोले उनीहरुले अहिले निक्षेपमा ब्याजदर नबढाउने निर्णय गरेका हुन्।
गत वर्ष बैंकहरुले निक्षेपको ब्याजदर बढाउदा उनीहरुको लागत बढेको छ । जसले गर्दा सबै बैंकको आधार दर बढेको छ। केहि बैंकको आधार दर १० प्रतिशत माथि पुगिसकेको छ। आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्दै गएको छ। अहिले कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा माथिसम्म पुगिसकेको छ।
व्याजदर स्थिर हुँदा त्यसले शेयर बजारमा राम्रो प्रभाव पार्ने जानकारहरुको भनाइ छ । शेयर बजार र तरलताको सोझो सन्बन्ध रहेको कतिको बुझाइ छ ।