काठमाण्डौ । जर्मनीबाट १५ दिन अगाडि आएको चालक अनुमति पत्र ९लाइसेन्स० छाप्न प्राविधिक समस्या उत्पन्न भएको छ।
जसबाट कार्ड छाप्ने काम अझै सुरु भएको छैन। यद्यपि कार्ड छाप्नको लागि प्राविधिक प्रक्रिया सुरु भइरहेको यातायात व्यवस्था विभागका अधिकारीहरूको भनाइ छ।
गत पुस २६ गते जर्मनीको मुलबार कम्पनीले पहिलो चरणमा ६लाख कार्ड काठमाडौँ पठाएको थियो। माघको पहिलो साताबाट कार्ड छाप्न सुरु गर्ने विभागको तयारी थियो। त्यो तयारीमा केही प्राविधिक अवरोध उत्पन्न भएको छ।
जर्मनीबाट आएका कार्डको पर्सनालाइजेशन गर्ने जिम्मा भारतको मद्रास सेक्युरिटी पिन्ट्रर्सले पाएको छ। लाइसेन्स कार्ड जर्मनीको मुलबर कम्पनीले पठाएको हो। कार्डको ल्याब टेष्ट गर्ने जिम्मा जर्मनीको फोरगा टेष्ट कम्पनीले पाएको छ। मद्रास कम्पनीले अझै कार्डको पर्सनालाइजेशन गरेको छैन। विगत ८ वर्ष देखि नेपालको लाइसेन्सको सिस्टमको नियन्त्रण उक्त कम्पनीले गर्दै आएको छ।
कार्डको पर्सनाइजेशन नभएको कारण जर्मनको फोरगा कम्पनीलाई अझै ल्याब टेष्ट गर्न नपठाएको विभागका महानिर्देशक उद्धव रिजालले बताए। उनका अनुसार ल्याब टेष्ट नभएकोले जर्मनीबाट आएका कार्डलाई छाप्ने काम अझै सुरु भएको छैन। विभागले जर्मनीको फोरगा कम्पनीलाई ७५ वटा छापेका कार्ड र ७५ वटा खाली कार्ड पठाउने तयारी विभागले गरेको छ । ‘कार्ड छाप्ने बित्तिकै ल्याब टेष्ट गर्न पठाउने छौ’ रिजालले भने।
यसअघि माघको पहिलो साताबाट कार्ड छाप्ने र कार्ड छाप्ने बित्तिकै सेवाग्राहीलाई वितरण गर्ने तयारी विभागले गरेको थियो। मुलबर कम्पनीले १२ लाख कार्ड पठाउने ठेक्का विभागबाट पाएको छ। जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा पठाइएको छ। बाँकी ६ लाख कार्ड ४५ दिन भित्र अर्को चरणमा पठाउने भएको छ।
कार्डको प्रतीक्षामा १४ लाख ५८ हजार सवारी चालक अनुमति पत्र पास भएका तथा नवीकरण गरेका सवारी चालक छन्।
पछिल्लो ६ महिना देखि लाइसेन्स छाप्ने काम ठप्प भएको छ। अहिले दैनिक ४ देखि ५ हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्। नागरिक दैनिकबाट