काठमाडौ - हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि हुन्छन् ।
आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आखिर किन यसो गरिएको होला ?
आज १ असोजका दिन भगवान विश्वकर्माको जन्म दिन हो । त्यसैले आज उनको पूजा गरिन्छ । जनकपुरधाम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ पूरै सडक जलमग्न छन्, दर्जनौं घरमा पानी पसेको छ तर भक्तजनले त्यसको परवाह गरेनन् । सबै पूजामा लागे । अराध्यदेवको पूजा भएकाले पानी परेकै कारण आफूहरु नरोकिएको नेपाल उद्योग वाणिज्य संघका प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिराले बताए ।हिन्दु संस्कृतिमा विश्वकर्मालाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।
यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ । भनिन्छ, भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए । उनी भगवान ब्रम्हाका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।
विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिन्छन् । ‘यस दिन सबै कार्य बन्द गरेर उनको पूजा गरिन्छ र अझ धेरै कार्य तथा समृद्धिको कामना गरिन्छ,’ पण्डित विद्यानन्द झाले भने, ‘आजको युगका आधारमा उनी त्यो समयका इन्जिनियर थिए । हिन्दु धर्ममा उनलाई निर्माण र सिर्जनाका देवता मानिन्छ ।’
विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । ‘देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे, त्यसैले उनी देवताका पनि आदरणीय थिए,’ मैथिलीका साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमलले भने ।
जन्म प्रशङ्ग
सृष्टिको रचनाको प्रारम्भमा भगवान विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुकोे नाभी–कमलबाट ब्रह्मा उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ । ब्रह्मा पुत्रको नाउँ धर्म थियो, जसको विवाह वस्तु नाउँका महिलासँग भएको थियो । धर्म र वस्तुको संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातै पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारागंत थिए । वास्तुको एउटा छोरा भयो जसको नाउँ यसै कारणले भगवान विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मेसिनका देवता भनिन्छ । भगवान विश्वकर्माको अनेक रूप रहेको बताइन्छ । दुई बाहु भएका, चार बाहु एवं दस बाहु भएका तथा एक मुख, चार मुख एवं पंचमुख भएका । उनको मनु, मय, त्वष्टा, शिल्पी एवं दैवज्ञ नाउँका पाँच पुत्र थिए ।
यस्तो पनि मान्यता छ कि पाँचै छोरा वास्तु शिल्पको छुटटाछुटटै विधामा पारगंत थिए र उनीहरुले धेरै कुरोको आविष्कार गरेका थिए । यस प्रशंगमा मनुलाई फलाम, मयलाई काठ, त्वष्टालाई ताम्बा, शिल्पी इँट र दैवज्ञलाई सुन–चाँदीले जोडिन्छ ।