काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवत् २०२५ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् सुरु भएको मानिन्छ। अहिले प्रचलनमा रहेको ग्रेगोरियन पात्रो पोप ग्रेगोरियनले जुलियन पात्रोलाई प्रतिस्थापन गरी ल्याएको हो।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। तर, यसलाई अपनाउन रसियाले करिब २०० वर्ष लागेको बताउँदै पूर्वप्रशासक तथा ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीले यसबारे विवाद भएको उल्लेख गरेका छन्। उपनिवेशकालमा विभिन्न स्थानमा इस्वी संवत् लादेकाले अहिले यसको विश्वव्यापी प्रयोग छ।
नेपालमा इस्वी संवत् प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीहरूले यसको प्रयोग गर्छन्। पछिल्ला वर्षहरूमा काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनी जस्ता पर्यटकीय क्षेत्रहरूमा ‘न्यू इयर इभ’ मनाउने चलन बढेको छ। सन् २०२४ को अन्तिम रातदेखि नै ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत स्थानमा विशेष चहलपहल देखिएको थियो।