भाग्यमानी ५ जनाले ११ कित्ता पाउने आइपीओ बाँडफाँट कहिले ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा ३२१.६८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा १७ लाख ९६ हजार ६८४ जना आवेदकले २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरका लागि २ अर्ब १ करोड ४२ लाख ६१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

लघुवित्तले असार १ गतेदेखि असार ५ गतेसम्म चुक्ता पूँजीको ६७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ६२ हजार ६१५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओ बाँडफाँटको तयारी भईरहेको बिक्री प्रबन्धकले जनाएको छ ।

 

लघुवित्तको आईपीईओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ६ हजार २६१ जना आवेदकले मात्रै आईपीओ प्राप्त गर्ने भएका छन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकले भने बाँकी रहेको ५ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया