काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थ व्यवस्था जोखिम अवस्थामा रहेको बताएका छन्। सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल श्रीलंकाको बाटोमा रहेको समेत बताए ।
मुलुकको अर्थव्यवस्था जोखिम अवस्थामा छ। सार्थक हस्तक्षेप गरेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन। संकट उन्मुख अवस्थाबाट बाहिर निकाल्न काम नगर्ने तर दाबी श्रीलंकाबाट हुनबाट जोगाउने छु भन्ने छ,’ उनले भने।
पौडेलले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा पनि आपत्ति जनाए। सरकारका गलत कामको साथ नदिएका कारण अधिकारीलाई हटाइएको उनको आरोप थियो। उनले निलम्बित गभर्नर अधिकारीलाई पुन: बहाल गर्न माग पनि गरे। उनलाई पुन: बहाल नगरिए देशको आर्थिक अवस्था थप संकटपूर्ण हुने उनको भनाइ थियो।
'सरकारले अब्बल भूमिकामा रहेका महाप्रसाद अधिकारीलाई हटाएर अवान्छित निर्णय गरेको छ। उनलाई सरकारका गलत काममा साथ नदिएका कारण हटाइएको हो। गभर्नरमाथि गरिएको हस्तक्षेप तत्काल फिर्ता नगरिए आर्थिक अवस्था झन संकटपूर्ण अवस्थामा पुग्ने छ। मुलुकको आर्थिक अवस्था जोगाउन हस्तक्षेप गर्न जरुरी छ,' पौडेलले भने।
पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको अंगको रुपमा संचालन गर्ने प्रयास गरेको आरोप समेत लगाए। देउवा सरकारले पूर्ववर्ती सरकारका काम निरन्तरता दिन नचाहेको पनि उनले बताए।
‘राष्ट्र बैंकलाई मन्त्रालयको अंगको रूपमा चलाउन कोसिस गरियो। सरकारले मौद्रिक नीति ल्याउनका लागि गभर्नरलाई ल्याउन नदिन हस्तक्षेप गर्यो। ओलीको सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो तर अहिले ३ प्रतिशतको प्रक्षेपण गरिएको छ। नेपालको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्ने संकेतहरु देखिएका छन्,’ पौडेलले भने। उनले हालको सरकारले व्यापार घाटामा छलाङ मारेको समेत दाबी गरे।
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक सरकारले सम्हाल्दा भूकम्प र नाकाबन्दी पछिको अवस्था रहेको र दोस्रो पटक ओली सरकार हुँदा कोभिड-१९ महामारी रहेको भन्दै ती समयमा पनि आर्थिक चुनौतीलाई सामना गरिएको बताए।
उनले देउवा सरकारलाई देशको आर्थिक अवस्था सबल बनाएर हस्तान्तरण गरेर गएको समेत दाबी गरे।