रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौँ – चाडपर्वलाई ध्यानमा राख्दै सहुलियत मूल्य पसलहरू असोज ७ गतेदेखि छठ पर्वसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल खोल्न निर्देशन दिएको छ।
सहुलियत पसलहरूको उद्देश्य उपभोक्ताहरूलाई चाडबाडको समयमा आवश्यक खाद्य तथा उपभोग्य वस्तुहरू सहुलियत मूल्यमा उपलब्ध गराउनु हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा यी पसलहरू सञ्चालन गर्नेछ। सहुलियतमा सबै प्रकारका चामल, दाल, गेडागुडी, चिउरा, चिनी, तेल, र मासु उपलब्ध हुनेछन्। चामलमा प्रतिकिलो पाँच रुपैयाँ, कर्णालीका उत्पादनहरूमा प्रतिकिलो सात रुपैयाँ छुट प्रदान गरिनेछ।
साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौँ उपत्यकामा नौ स्थानमा सहुलियत पसल सञ्चालन गर्दै नून, चिनी, तेल, चिउरा र पिठोमा छुट उपलब्ध गराउनेछ। उपत्यकाबाहिरका २२ जिल्लामा पनि यस्ता पसलहरू खुल्नेछन्।
दुग्ध विकास संस्थानले पनि भदौ १ देखि कात्तिक मसान्तसम्मका लागि छुट योजना सञ्चालन गरिरहेको छ। गृह मन्त्रालयसँग समन्वय गरी ढुवानी र आपूर्तिमा सहजीकरण गरिने र पेट्रोलियम पदार्थहरूको सहज आपूर्ति सुनिश्चित गर्न आयल निगमलाई निर्देशन दिइएको छ।
सरकारले हरेक वर्ष निजी क्षेत्रको एकाधिकार तोड्न र बजारमा वस्तुको गुणस्तर तथा मूल्य नियन्त्रण गर्न सहुलियत पसल सञ्चालन गर्दै आएको हो। यस्ता पसलहरूले वस्तुको मूल्य सबैले देख्ने गरी प्रदर्शन गर्नुपर्नेछ।