काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। साढे चार महिनादेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी, रियल इस्टेटलगायत विभिन्न क्षेत्रमा २९ वर्ष काम गरेको अनुभव छ। हमाल लामो समय थाइल्याण्ड लगायतका देशमा बस्दै आएका थिए। पछिल्लो करिब तीन वर्षदेखि भने नेपालमा उनको नियमित बसाइ छ।
धनगढी स्थायी घर भइ अहिले ललितपुरको भैंसेपाटी बस्दै आएका हमालले सन् १९८९ मा भारतको जम्सेदपुरबाट इन्जिनियरिङमा स्नातक गरेका हुन्। सोपछि १९९९ मा उनले बैंकक (थाइल्याण्ड) को एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एआईटी) बाट एमबीए गरेका छन्। इन्जिनियरिङ र एमबीए दुवै उनले पूर्ण छात्रवृत्ति पाएर अध्ययन गरेका हुन्।