काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३ सय १९ रूपैयाँमा भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०६ रूपैयाँ ३५ पैसादेखि अधिकतम ३ सय १९ रुपैयाँ ०५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि आरएचजीसिएल (RHGCL) सिम्बोल प्राप्त गरेको छ ।
मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता साधारण सेयर (आईपीओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।
कम्पनीले असार २९ गतेदेखि श्रावण १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको थियो । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए ।