काठमाडौं–तरलताको अभाव देखाउँदै बैंकले व्याजदर वृद्धि गरीपछि उद्योगी व्यवसायीले व्याजदर घटाउन माग गरेका छन् । नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले बैंक ब्याजलाई पूर्व भएको सहमति अनुरुप सिंगल डिजिटमा नझारेसम्म कडा भन्दा कडा विरोध सहितको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले बैंकहरुले महिने पिच्छे ब्याजदरहरु बढाउने गरेको भन्दै कार्य समिति बैठकले विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले मुलुकको आर्थिक अवस्था नाजुक हुँदै गइ रहेको अवस्थामा आर्थिक क्षेत्रका स्तम्भ मानिने उद्योग खासगरी उत्पादन मुलक उद्योगहरुलाइ प्रोत्सान गर्नुको सट्टा राज्य तथा बैंक, बीमा, विद्युत जस्ता निकायबाट भै रहेको हतोत्साही र कार्टलिंगको विरोध स्वरूप राज्यका सबै निकायहरुको ध्यानआकर्षण गर्ने तथा कुनै सुनुवाई नभएमा आन्दोलन सहितको कडा कदम उठाउने निर्णय समेत गरेको छ ।
परिसंघले निकट भविस्यमा नै आर्थिक क्षेत्र सम्बन्धी बजेट कार्यान्वयन नयाँ बजेटको तर्जुमा र निजी क्षेत्रका समास्याका सम्बन्धमा भन्सार, आन्तरिक राजस्व एवं राजस्व आनुसन्धान विभागसँग अन्तरक्रिया सञ्चालन गर्ने निर्णय गरेको छ ।