काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेश विरुद्ध ४ रनको जीत निकालेको छ । गएराति भएको खेलमा बंगलादेशलाई हराउदै दक्षिण अफ्रीकाले लगातार तेस्रो पटक जीत निकालेको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाएका थिए ।
जीत पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलबाट ६ अंक भएको छ । दुई खेल खेलेका बंगलादेश र नेदरल्यान्ड्सको समान २ अंक छ । नेपाल र श्रीलंका अंक विहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलङ्काले २ खेल खेलेको छ । नेपालले भोलि श्रीलंकासँग खेल्दैछ ।
टी–२० विश्वकपमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । न्युयोर्कमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।