सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन रोकियो, यस्तो छ कारण

काठमाडौं–बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टले यो वर्ष शेयर निष्कासन गर्न नपाउने भएको छ । सर्वोत्तमलाई धितोपत्र बोर्डले तत्काल अनुमति नदिने भएको छ । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षमै बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्ने गरी बोर्डमा प्रस्ताव गरेको थियो । पब्लिक कम्पनी दर्ता भएको एक आर्थिक वर्ष पूरा भए पछि मात्र साधारण शेयर जारी गर्न पाइने व्यवस्था रहेको छ ।

सर्वोत्तम पब्लिक कम्पनी भएको एक वर्ष पूरा भए पनि कम्पनीको व्यालेन्स सिट प्रकाशित भएको एक वर्ष पुग्न २८ दिन नपुगे पछि यो वर्ष रोक्नु परेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । अब साउन भदौसम्म कुनै पनि कम्पनीको बुक बिल्डिङबाट शेयर आउने सम्भावना नरहेको उनले बताए ।सर्बोत्तमले करिब ४० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने तयारी गरेको थियो । ४ अर्ब पुँजी रहेको सर्वोत्तमले त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न प्रस्ताव गरेको थियो ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको थियो । प्रस्तावित मूल्य क्युआइआइ (क्वालिफाइड इन्टिच्युसनल इन्भेष्टर)बाट अनुमोदन हुन भने बाँकी रहेको सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए ।क्युआइआइको प्रक्रिया सकिएपछि निर्धारण भएको मूल्यको आधारमा कम्पनीले निष्काशन अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने दाहालले जानकारी दिए ।

बुक बिल्डिङमा जानु पूर्व कम्पनीले बुक बिल्डिङ निर्देशिका,२०७७ को दफा ६ अनुसार नियमावलीको अनुसूची ५ बमोजिम विवरण पत्र र उक्त विवरण पत्रमा आफ्नो अनुमानित मूल्य र मुल्याङ्कनको आधार र औचित्य खुलाइ क्युआइआइ सामु दाबी गनुपर्ने व्यवस्था छ । एनआइआइको लागि कम्तीमा ५० कित्ता दिनुपर्नेछ। त्योभन्दा घटी सर्वसाधारणले पाउने छैनन्। गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि शेयर प्राप्त गर्ने सर्वसाधारणले ५० कित्ता शेयर पाउनेछन् ।

प्रतिक्रिया