ओली र नेपाल समूहबीच सम्बन्ध विच्छेद, नेपाल समूहका २० सांसदले राजिनामा दिने

काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीको पेलान खेप्न नसके पछि अन्ततः माधव कुमार नेपालले ओलीसँग सम्बन्ध विच्छेद गर्ने तहमा पुगेका छन् ।ओली आफ्नो अडानबाट टसमस नभए पछि नेपाल पक्षले ओलीलाई सत्ताच्युत गर्नका लागि सांसद पदबाट राजीनामा दिने अन्तिम तयारी गरेका छन् ।
नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भएका छन् ।
ओली पक्षसँग बार्ता सफल नभएपछि नेपाल पक्षले कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ ।

नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । नेपाल निकट स्रोतका अनुसार २० जना सांसदको राजीनामा तयार छ । अब केपी ओलीलाई सत्ताच्यूत गरेपछिमात्र नयाँ आधारमा एमालेको एकता खोज्ने वा नयाँ पार्टी गठन गर्ने बारे प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपालसहित भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् । माधव पक्षका एक सांसदले भने–हामीले राजीनामा पत्रमा हस्ताक्षर गरेर माधव नेतृत्वलाई बुझाएका छौं । दुःखका साथ भन्नुपर्छ अब एमाले एकता जोगाउन सकिएन ।

एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन सहित पत्यक्ष निर्वाचितले मात्र राजीनमा पत्रमा हस्ताक्षर गरिएको ती सांसदले बताए । उनका अनुसार माधव नेपालले देउवालाई सो हस्ताक्षर देखाउने र संघीय संसद सचिवालयमा पेश गर्ने तयारी छ । ‘रातभरि र भोलि बिहान स्थायी समितिले कारणवश तल–माथि निर्णय लिएन भने ९९ प्रतिशत राजीनामा दिने तयारीमा छौं’ एमालेका नेता तथा सांसद विरोध खतिवडाले शनिवार राति भने, ‘रातभरिमा फरक स्थिति बन्ने सम्भावना न्यून भएको हुँदा सम्भवतः भोलि हामी पूर्व सांसद बन्छौं होला ।’

प्रतिक्रिया