प्रधानमन्त्री ओलीको सत्ता संकटमा, जसपा नेता महतोले पनि ओलीलाई साथ नदिने

काठमाडौं— पार्टीको माग पुरा गरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताउँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र महतोले पनि ओलीको साथ छाडेका छन् । महतो प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भए पछि जसपा भित्र महन्त ठाकुर एक्लिएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरू पहिलेदेखि नै ओलीको विपक्षमा थिए । पार्टीले राखेका माग पूरा गरेमा सरकारलाई समर्थन दिने पक्षमा उभिँदै आएका महतोले सरकारले सबै माग पूरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने भए पछि प्रधानमन्त्री ओलीको सत्ता संकटमा पर्ने देखिएको छ । महतोनिकट नेताका अनुसार यथास्थितिमा सरकारलाई विश्वासको मत दिन उपयुक्त नहुनेमा निष्कर्षमा महतो पुगेका हुन् ।
यादव–भट्टराई पक्षले कार्यकारिणी बैठक आयोजना गरी बहुमतबाट सरकारविरुद्ध अविश्वास प्रस्ताव आए समर्थन गर्ने निर्णय लिइसकेको थियो । महतो पनि सोही पक्षमा उभिने भएपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने देखिएको छ ।

निलम्बित भएका २ जना बाहेक जसपासँग ३२ सांसद रहेका छन् । नेकपा एमालेका पुरै सांसदले ओलीको पक्षमा मतदान गरे पनि जसपाको साथ चाहिन्छ । एमालेका माधव नेपाल पक्षले के गर्ने अझै टुंगो लागेको छैन । अब जसपाका बहुमत सांसदले ओलीको विपक्षमा मतदान गर्ने देखिएको छ ।

प्रतिक्रिया