खिमलाल देवकोटासँग चुनाव लड्न किन हच्किए बादल ?

काठमाडौं—नेकपा भित्रको चरम विवाद र अदालतको निर्णय पछि नेकपा माओवादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल खिमलाल देवकोटासँग चुनाव नलड्ने मुडमा छन् । राम बहादुर थापाले पार्टी छाडे पछि नेकपा माओवादीले थापालाई राष्ट्रिय सभा सदस्यबाट हटाएको थियो । उक्त रिक्त पदमा बागमती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बैशाख २४ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

नेकपा एमलो भित्रको माधव नेपाल र झलनाथ खनाल पक्षले थापालाई मत नदिएर खिमलाल देवकोटालाई अघि सारे पनि बादल चुनाव लड्न हच्किएका हुन् । देवकोटालाई नेपाली कांग्रेस र नेकपा माओवादीको पनि साथ छ । एमालेले गृहमन्त्री बादललाई अघि सारेको भए पनि चुनाव नजितिने भए पछि चुनाव लड्न हच्किएका छन् ।

बिहीबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति सदस्य बैठकले उक्त उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने भने पनि एमालेकै माधव पक्षले मत नदिने विश्लेषण भएपछि बादल चुनाव लड्न हच्किएका छन् ।

काँग्रेस, माओवादीले संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमाले निकट वाम बुद्धिजीवी भनेर चिनिएका देवकोटालाई माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेको माधव नेपाल पक्षको समर्थन छ ।
बागमती प्रदेशमा एमालेको मत एकै ठाउँमा पर्दा र साझा उम्मेदवार बन्दा सजिलै जित्ने निश्चित भए पनि पार्टी विवादका कारण असन्तुष्ट पक्ष खनाल नेपाल समूहले ओलीले उठाएका उम्मेदवारलाई मत नदिने निश्चित छ । यस्तो अवस्थामा कसलाई उम्मेदवार बनाउने भन्ने ओली समूहलाई कठिन भएको छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने बताएका थिए ।
एक सिटका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेशका ११० सांसद र स्थानीय तहका २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभाका एकजना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ । समग्रमा यो प्रदेशमा एमालेको ५,३१० मत भार हुन्छ । तर, यो मत विभाजन हुँदा एमाले उम्मेदवारलाई निर्वाचन जित्न मुस्किल पर्ने देखिन्छ ।

प्रतिक्रिया