कोभिडको खोप खरिदमा साढे ३२ करोडको कमिसन खेल,को हुन् कमिसन लिन खोज्ने ?

काठमाडौं—कोभिड १९को संक्रमण फैलिएर नागरिकले अकालमा ज्यान गुमाइरहेको अवस्थामा  कोभिडको खोप खरिदमा साढे ३२ करोड रुपैयाँ कमिसन खान खोजेको बाहिर आएको छ । कोभिडको खोप खरिदमा ३२ करोड ४३ लाख रुपैयाँ कमिसन खेल सार्वजनिक भएको छ ।

कोभिड महामारी सुरु हुनासाथ स्वास्थ्य सामग्री खरिदमा ओम्नी इन्टरनेसनलसँग बदनियतपूर्ण सम्झौता गरेको भनेर आलोचित सरकार खोप खरिदमा पनि बिचौलियाको प्रभावमा परेको छ । भारतको खोप उत्पादक सेरम इन्स्टिच्युटको स्थानीय एजेन्टको दबाबमा पर्दा सरकार अनिर्णयको बन्दि बन्यो, जसका कारण तत्काल ५० लाख खोप ल्याउने असाधरण अवसर गुमेको छ ।
सेरम, हुकम र स्वास्थ्य सेवा विभागबीच प्रसार भएका दस्ताबेज भन्छ— ५० लाख डोज खोप खरिदमा ३२ करोड ४३ लाख रुपैयाँ कमिसन लिने खेल थियो ।

भारत सरकारले सहजीकरण गर्ने गरी नेपाल सरकारले किन्ने प्रक्रिया (जिटुजी)बाट सेरमसँग २० लाख डोज खरिद गर्न मन्त्रिपरिषद्बाटै निर्णय भएको थियो । प्रतिडोज चार डलरका दरले २० लाख डोजको ८० लाख डलर (९३ करोड ६० लाख रुपैयाँ) नेपालले भुक्तान गर्ने सम्झौता भएको थियो । त्यसमा पनि सेरमको सर्तअनुसार कुल रकमको ८० प्रतिशत अर्थात् ७४ करोड अग्रिम भुक्तानी पठाउन मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

नेपालले सेरम इन्स्टिच्युटद्वारा उत्पादित अक्सफोर्ड अस्ट्राजेनेका खोप खरिद प्रक्रियामा कमिसनको खेल भएको हो । हुकुम इन्टरप्राइजेज सेरमको एजेन्ट हो । सेरमको स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेजका साझेदार विजय दुगड र ऋतुसिंह बैद्य हुन् ।सरकारले खरिद गरिसकेको र भविष्यमा खरिद गर्ने खोपमा १० प्रतिशत कमिसन एजेण्टले माग गरे पछि खोप खरिद प्रक्रिया रोकिएको आरोप लागेको छ । सरकारले निजी क्षेत्रलाई खोप खरिद गर्न बाटो खुलाउँदै १० प्रतिशत कमिसन लिन पाउने व्यवस्था गरिसकेको छ ।

नेपालले सेरमसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख पाए पनि बाँकी १० लाख डोज पाउन सकेको छैन । कमिसन लिन खोज्ने प्रधानमन्त्री निकटका व्यापारी हुन् । दुगड प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोति दुगडसँग पनि निकट रहेको बताइएको छ । सेरमको स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेजसँग आबद्ध विजय दुगड ,हुकुमकी अर्की साझेदार ऋतुसिंह बैद्य एमाले निकट व्यापारी सुरज बैद्यकी पत्नी हुन् । प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध रहेका सुरज नेपाल भ्रमण वर्ष २०२० का संयोजकसमेत रहिसकेका छन् ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शक्तिशाली कमिसन एजेन्टका कारण खोप आयातमा अवरोध भएको संकेत गरेका छन् ।
सेरमको स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेजसँग आबद्ध विजय दुगड भने सरकारले अरुलाई दोष दिएको र आफ्नो फर्मले खरिद प्रक्रिया अवरुद्ध नगरेको दाबी गरका छन् । ‘हामीले संकटको घडीमा हातेमालो गर्न चाहेको हो तर सरकारले चाहेन,’ उनले भने । उनले भानुभक्त ढकाल स्वास्थ्यमन्त्री भएकै बेला सेरमसँग २ करोड डोज खोप खरिद प्रस्ताव गरेको बताए । ‘सरकारको अनिर्णयका कारण खोप आएन । हामीले सरकारले तोेकेको सर्तमा खोप ल्याउँछौं भनेको हो,’ उनले भने।
सरकारले नेपालमा कोराना महामारी रोकथाम गर्न कुल ४ करोड ३० लाख मात्रा खोप चाहिने प्रक्षेपण गरेको बताउँदै दुगडले थपे, ‘यति धेरै खोपको मात्रा खरिद गर्न सरकारको योजना खोई ? केही लाख सेरमको खोपको विषयलाई मात्र सरकारले किन यति विवादमा ल्याएको छ ?’

 

प्रतिक्रिया