इन्स्योरेन्समा पहिलो महिला र कान्छी सिइओ उपासना, को हुन् उनी ?

काठमाडौं—राजनीतिक रुपमा महिला उच्च तहमा पुगेका छन् । पछिल्लो समय कर्पोरेट क्षेत्रमा पनि महिलाको उपस्थिति बलियो हुँदै गएको छ । वाणिज्य बैंकमा महिला प्रमुख कार्यकारी अधिकृत छन् । तर, इन्स्योरेन्स क्षेत्रमा अहिलेसम्म महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिएनन् । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को सिइओमा उपासना पौडेल नियुक्त भएकी छिन् । उनी इन्स्योरेन्स कम्पनीहरुमा पहिलो महिला र कान्छी सिइओ पनि हुन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागी इन्स्योरेन्सको सिइओ पदमा नियुक्त गरेको हो । उनी महिला मात्र नभएर कम उमेरमा सिइओ हुने महिला पनि हुन् । उनी ३४ वर्षको उमेरमा सिइओ हुन सफल भएकी छिन् । पौडेल एक दशकदेखि बीमा क्षेत्रमा क्रियाशिल छिन् । उनी यस अघि यूनाइटेड इन्स्योरेन्स कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।

भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टीम वर्कलाई विशेष ध्यान दिन्छिन् ।

उनी अध्ययन र रोजगारीकै सिलसिलामा एक दशक विदेशमा बसिन् । उनीसँग भारतको एक्जा जनरनल इन्स्योरेन्समा काम गरेको अनुभब छ । भारतमा धेरै सुविधा भए पनि स्वदेशमा नै केही गरौं भनेर आएको बताउँछिन् । भारतबाट फर्के पछि सानिमा जनरल इन्स्योरेन्समा नायव महाप्रबन्धक भएर काम गरेकी उनले यूनाईटेडमा डेपुटी सीईओको रुपमा प्रवेश गरेकी थिइन् ।

बैकिङ क्षेत्रबाट धेरै अफर र अवसर आए पनि अब इन्स्योरेन्स क्षेत्रमा नै काम गर्ने उनको योजना छ । ‘मैले धेरै वर्ष बीमामा काम गरे । अब म यो क्षेत्रमा नै काम गर्छु, उनले भनिन् ।

काठमाडौंको कुलेश्वरस्थित शिक्षित परिवारमा जन्मेकी उपासना भारतमा अध्ययन गरेकी हुन् । उनका बाबु शिक्षक हुन् भने आमा बैंकर्स । डिएभीबाट विद्यालय तहको शिक्षा लिएकी उपासनाले डनबस्कोबाट प्लसटू गरेकी हुन् । काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बिजनेश इन्फर्मेशसन सिस्टम विषयमा ब्याचलर गरेकी उनले दिल्ली यूनिभर्सिटीबाट एमबीए गरेकी हुन् । उनी विवाहित हुन् । उनकी डेढ वर्षकी छोरी छिन् । उपासना बिहान ८ः३० बजे घरबाट निस्केर बेलुकी ८÷९ बजेसम्म अफिसमा काम गर्छिन् । (उपसनाको तस्बिर विकासन्यूजबाट लिइएको हो )

प्रतिक्रिया