काठमाडौं कोरोना संक्रमण उच्च गतिमा फैलिए पछि सरकारले निषेधाज्ञामा कडाई गरेसँगै त्यसको प्रभाव बैंक तथा वित्तीय संस्थामा पनि पर्ने भएको छ । सबै शाखा खोलेका बैंक तथा वित्तीय संस्थालाई कडाई गर्दै आइतबारबाट एक चौथाईँ शाखा र एक चौथाईँ कर्मचारी राखेर सेवा दिन सरकारले निर्देशन दिएको छ ।
शुक्रबारसम्म सबै शाखाले विहान १० बजेदेखि २ बजेसम्म सेवा दिँदै आएकोमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज (आइतबार) देखि बैंक तथा वित्तीय संस्थाले एक चौथाइ शाखा खोलेर एक चौथाइ कर्मचारी मार्फत सेवा दिने भएका हुन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सेवा दिन सक्ने निर्णय गरेको थियो । त्यसका लागि राष्ट्र बैंकलाई सहजीकरण गर्न भनेको थियो ।
केन्द्रीय बैंकले आज नै सीसीएमसीको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न निर्देशन दिने भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि उक्त व्यवस्था गर्न लागेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुले नागरिकलाई दैनिक उपभोग्य बस्तु खरिदका लागि इन्टरनेट बैंकिङ, एटिएमबाट नगद रकम झिक्न समेत आग्रह गर्ने भएका छन् । नागरिकले जुनसुकै बेला इन्टरनेट बैंकिङ सेवा र एटिएम जतिवेला पनि खुल्ने भएकाले त्यस मार्फत सेवा लिन सक्ने छन् ।