काठमाण्डौं—कोभिडको संक्रमण उच्चदरमा फैलिए पछि सरकारले कडाई गर्ने भएको छ । निषेधाज्ञामा पनि भिडभाड बढे पछि सरकारी र सार्वजनिक सेवा दिने कार्यालयमा पनि आइतबारदेखि कडाई गर्ने भएको छ ।
यसका लागि उच्चस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले समेत सरकारका मन्त्रालय, विभाग र कार्यालयका लागि सवारी पासको कोटा निर्धारण गरेको छ । सीसीएमसीका एक सदस्य मन्त्रीका अनुसार शुक्रबारको बैठकले आइतबारदेखि थप कडाई गर्ने नीतिअनुसार सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका लागि सवारी पासको अधिकतम कोटा तोकेको हो ।
सीसीएमसीले आइतबारदेखि संघीय सरकारका मन्त्रालयले १० वटा सवारी मात्र चलाउन पाउने निर्णय गरेको छ । यस्तै, विभागले ५ वटा र अन्य सरकारी कार्यालयले सचिव र सहसचिवबाहेक अधिकतम ३ वटा मात्रै सवारी संचालन गर्न पाउनेछन् ।
यो नियम बैंक तथा वित्तीय संस्थाको हकमा समेत लागू हुने र यसका लागि राष्ट्रबैंकले सहजीकरण गर्नेछ । केन्द्रीय बैंकले आइतबार नै बैंक तथा वित्तीय संस्थाले चलाउन पाउने सवारी संख्या र कर्मचारी संख्याको विषयमा आवश्यक निर्देशन जारी गर्नेछ ।
सीसीएमसीको हिजोको बैठकले बैंक तथा वित्तीय संस्था एकचौथाई कर्मचारी राखेर मात्र संचालन गर्नुपर्ने निर्णय गरेको थियो ।