काठमाडौं—गण्डकी प्रदेश सभामा भएको घटनाको विषयलाई लिएर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले नेपमा एमाले माथि गम्भिर आरोप लगाएका छन् । के.सीले आफ्नो पार्टीका सांसद खिम बिक्रम शाहीलाई अपहरण गरेर अस्पतालमा राखेको आरोप लगाएका छन् । ‘हाम्रा सांसद अपहरण गरिएको हो, बिरामी भएको भए हामीले भेट्न किन नपाउने? , नयाँ पत्रिका दैनिकमा अन्तर्वार्ता दिँदै के.सी.ले भनेका छन्,‘ एमालेले नांगो प्रदर्शन गरेको छ । मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन । हाम्रो साथीहरू भेट्न जाँदा पनि भेट्न दिनुहुन्न भनेर रोकिएको छ । त्यहाँ अस्पतालमा मिलेमतो कति छ ।’
कोभिड– १९ ‘टेस्ट’ गर्दा कोरोना नेगेटिभ देखिएको बताउँदै के.सी.ले भने, ‘कोरोनाको बिरामी भनेर मान्छेलाई अस्पतालमा लगिएको छ । रातारात के भयो आइसियूमा राखिएको छ । पार्टीलाई जानकारी छैन ।’१२ बजेसम्म सम्पर्कमा रहेको र संसद्मा आउँछु भनेको मान्छे बिहान ९ बजेदेखि अस्पतालमा गएकोले मिलेमतो हो कि अपहरण भएको हो, छानबिनपछि थाहा हुने के.सी.ले बताए ।
गण्डकी प्रदेश सरकारको पक्ष विपक्षमा मतदान गर्ने दिन एकाएक बेपत्ता भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सांसद खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा रहेको बताइएको छ । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको भए पनि अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको देखिएको छ ।
गण्डकी प्रदेशको प्रदेशसभाको बुधबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलमा शाही अनुपस्थित भएपछि हल्लाखल्ला भएको थियो । उनी विरामी भएको विषयमा जनमोर्चालाई कुनै जानकारी छैन ।
अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग निवेदन दिएपछि प्रदेश सभा रोकिएको छ । नेगेटिभ रिपोर्ट आएका शाहीलाई बहाना बनाएर बन्दी बनाएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाएका छन् ।