काठमाडौं– गण्डकी प्रदेश सरकारको पक्ष विपक्षमा मतदान गर्ने दिन एकाएक बेपत्ता भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सांसद खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा रहेको बताइएको छ ।
प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको भए पनि अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको देखिएको छ ।
गण्डकी प्रदेशको प्रदेशसभाको बुधबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलमा शाही अनुपस्थित भएपछि हल्लाखल्ला भएको थियो । उनी विरामी भएको विषयमा जनमोर्चालाई कुनै जानकारी छैन ।
अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग निवेदन दिएपछि प्रदेश सभा रोकिएको छ । नेगेटिभ रिपोर्ट आएका शाहीलाई बहाना बनाएर बन्दी बनाएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाएका छन् ।